‘नगरका १० वडामा खेलकुद विकास समिति गठन गरिसकेका छौं,’ हलेसी तुवाचुङ नगरपालिकाका नगर खेलकुद विकास समिति, पूर्वसंयोजक किस्मत राई सुनाउँछन्, ‘ती वडामा खेलसामग्री वितरण गरिसकेका छौं । २ नम्बर वडा डिकुवामा पनि चाँडै समिति गठन गर्दै छौं ।’
हलेसी तुवाचुङ नगरपालिकाले सागर राई (भलिबल/फुटबल) र मिलन कसजू (कराते) प्रशिक्षक व्यवस्था गरिसकेको छ । सक्षम खेलाडी उत्पादन गर्न नगर र खेलकुद विकास समिति लागिपरेको छ । यसै सेरोफेरोमा तुवाचुङ डटकमका सहसम्पादक असल चरित्रले हलेसी तुवाचुङ नगरपालिकाका नगर खेलकुद विकास समिति, पूर्वसंयोजक किस्मत राईसँग गरेको कुराकानीको सम्पादित अंश :
हलेसी तुवाचुङ नगरपालिकाको खेलकुद विकास समिति संयोजक हुनुहुन्छ । अहिलेसम्म समितिबाट भएका काम के–के हुन् ?
हलेसी तुवाचुङ नगरपालिकाले २०७६ मंसिर २७ गतेको नगरसभाबाट मलाई खेलकुद विकास समिति संयोजकको जिम्मेवारी दिएको हो । जिम्मेवारी पाएको तीन महिनापछि विश्वव्यापी कोरोना महामारीले लकडाउन भयो । लकडाउनमा खासै काम गर्न सकिएन । त्यतिबेला केही गतिविधि गर्न नसके पनि अहिले दुई नम्बरबाहेक नगरका १० वडामा खेलकुद विकास समिति गठन गरी खेलसामग्री वितरण गरिसकेका छौं ।
वडामात्रै नभएर वडाका पनि टोल–टोलका खेलप्रेमीले आवश्यकताका आधारमा खेलसामग्री माग्दै आएका छन्, उनीहरूलाई समेत स–सम्मान खेलसामग्री उपलब्ध गराएका छौं ।
डिकुवामा समेत यथाशीघ्र वडा खेलकुद विकास समिति गठन गर्दै छौं ।
नगरभरिका खेलप्रेमीलाई खेलकुदमा जागरुक बनाउन नगर खेलकुद विकास समिति संयोजक तथा नगरपालिकाको भूमिका कस्तो हुनुपर्छ ?
नगरका खेलप्रेमीको उत्थानका निम्ति नगरपालिका र नगर खेलकुद विकास समिति सधैं सकारात्मक छ । प्रतिभावान खेलाडी बनाउन, त्यो पनि नगर, जिल्ला, राष्ट्र र अन्तर्राष्ट्रिय जगत्सम्मै चिनाउने, पहुँच, परिचय र प्रतिभा प्रतिनिधित्व गर्ने/गराउने उद्देश्यमा हामी प्रतिबद्ध छौं । त्यसैका लागि समिति गठनपछि खेलाडीका उत्थानका निमित्त सागर राई (भलिबल/फुटबल) र मिलन कसजू (कराते) प्रशिक्षक व्यवस्था गरेका छौं । कोरोना कहरले पदभार र भूमिकाको आधारमा धेरै काम गर्न नसके हिजोआज उहाँहरूले आफ्नो भूमिका निर्वाह गर्दै आउनुभएको छ ।
यसैगरी, नगरको खेल क्षेत्रमा सुधार ल्याउन सकिन्छ भन्ने अध्ययन र चिन्तन गर्दै आएको छु । त्यसका लागि नगरको भूमिका सकारात्मक र अगणितीय छ । नगरबाटै दुई प्रशिक्षकको तलब प्रबन्ध मिलाइएको छ । सकारात्मक कामका लागि नगरले मेरुदण्डको काम गरेको छ ।
नगरको प्रतिनिधित्व गराउँदै विभिन्न विधाका खेलाडीलाई विभिन्न प्रतियोगितामा सहभागी गराउँदै आउनुभएको छ । यस कार्यले नगर खेलकुद समितिको प्रगति कत्तिको देखिन्छ ?
अहिलेसम्म नगर खेलकुद विकास समितिमातहत तीन खेलमा सहभागिता जनाएको हो । जसमध्ये पहिलोपटक दिक्तेलमा अन्डर ट्वान्टी थ्री खेलमा सहभागिता जनायौं । हाम्रो टिम सेमिफाइनलिस्ट भएको थियो । दोस्रोपटक केपिलासगढी गाउँपालिका, बाक्सिलामा बाक्सिला गोल्ड कप’ मा सहभागी गरायौं । त्यहाँ हाम्रो टिमले पहिलो चरणमै हार बेहोर्नुपर्यो ।
तेस्रोपटक– हाम्रा खेलाडी ‘वडा च्यालेन्ज प्रतियोगिता’ खेल्न लफ्याङ पुगेका थियौं । लफ्याङमा हाम्रो टिमले प्रथम स्थान हासिल गर्यो । यो खेल वडास्तरीय भएकाले हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका खेलाडी सहभागी थिए । त्यसपछि केही समयअघि भएको ‘अन्तर क्लबस्तरीय’ प्रतियोगितामा चाहिँ हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका खेलाडीले बाजी मार्नुभएको थियो । समग्रमा हेर्दा कर्मअनुसार फल अथवा प्रगति सन्तोषजनक छ ।
विभिन्न ठाउँमा भए–गरेका खेलकुद प्रतियोगितामा नगरबाहिरका खेलाडी किनेर सहभागिता गराइन्छ । यसो गर्नु उपयुक्त हो र ? होइन भने आफ्नै नगरपालिकाभित्र खेलाडीको उत्थान र उत्पादनमा ध्यान दिनुपर्ला कि ?
खेलाडीको उत्थान र उत्पादनका लागि नगरका प्रत्येक वडामा खेलकुद समिति गठन गरिएको छ । नगरले दुई खेल प्रशिक्षक व्यवस्था गरेको छ । हामी प्रारम्भिक चरणमै छौं । तसर्थ, सक्षम खेलाडी उत्पादन गर्न केही समय अवश्य लाग्ला । अपवादबाहेक हामीले नगरबाहिरबाट खेलाडी ल्याएर खेलाएका छैनौं ।
नगरस्तरीय खेल प्रतियोगितामा समेत बाहिरका व्यावसायिक खेलाडी किनेर खेलाउन कत्तिको उचित या अनुचित हो ?
यो त सरासर अनुचित हो । किनभने नगरस्तरीय खेल प्रतियोगितामा बाहिरबाटै खेलाडी ल्याउन थालियो भने नगर खेलकुद विकास समितिको कुनै अर्थ र महत्व रहँदैन । हामी विगतभन्दा निकै माथि उठिसकेका छौं । त्यसैले आइन्दा बाहिरका खेलाडी किनेर खेलाउन प्रतिबन्ध गरी स्थानीय खेलाडीलाई प्राथमिकता दिइनेछ । र, यसमा हामी प्रतिबद्ध छौं ।
हलेसी तुवाचुङ नगरपालिकाका खेलकुदमा रुचि भएका तर अवसर नपाएर छाँयामा परेका खेलप्रेमीलाई नगरको खेल संयोजकको हैसियतले के भन्नुहुन्छ ?
प्रथमतः तपाईं खेलप्रेमी हुनुहुन्छ भने किस्मत राईसँग सम्पर्कमा आउनुहोला । आर्थिक, सामाजिक, पारिवारिकलगायत विविध समस्याले तपाईंमा रहेको खेलप्रति प्रतिभा, रहर, सपना पूरा गर्न हरतरहले प्रतिबद्ध छु । सकेजति म आफैं पनि सहयोग गर्ने प्रयास गर्छु । नसकेको नगर, वडा, समाजसेवी, राजनीतिकर्मीसँग समन्वय गरी सहयोग गरी अँध्यारोमा परेका खेलप्रेमीलाई उज्यालो मैदानमा ल्याउने प्रतिबद्धता तुवाचुङ साप्ताहिकमार्फत जाहेर गर्छु ।
हलेसी तुवाचुङ नगरपालिकाभरिमा खेल क्षेत्रमा अझ थप विकास गर्न स्थानीय, प्रदेश र संघ सरकारले के गरिदिए अझ प्रगति हुन्थ्यो होला ?
हलेसी तुवाचुङ नगरपालिका खोटाङकै भौगोलिक विकटता भएको क्षेत्र हो । तर पनि विशेषतः फुटबल, भलिबल आदि खेल क्षेत्रमा युवाको उत्साह बढ्दो छ । उत्साह बढ्दो भए पनि हामीसँग प्रशिक्षण, प्रशिक्षण हल, खेलमैदान अभाव छ । कुनै–कुनै वडामा सेभेन ए साइड, नाइन ए साइडको मैदान रहे पनि सबैमा छैन ।
मेरो व्यक्तिगत विचारमा स्थानीय, प्रदेश र संघ सरकारबाट हाम्रो नगरका एघारवटै वडामा भलिबल, फुटबल, ब्याडमिन्टनलगायत विधाका खेलमैदान र करातेका प्रशिक्षणका लागि कभर्ड हल भइदिएमा खेल क्षेत्रमा फड्को मार्न सकिन्थ्यो ।
(तुवाचुङ डटकमबाट)