(रिंकु राई)
छाप्रोदेखि तारेहोटलसम्म पाक्ने तरकारी के हो ? मासु भन्ठानुहोला । त्यस्तो सोच्नुभएको छ भने तपाईं सरासर गलत हुनुहुन्छ । छाप्रोदेखि तारेहोटलसम्म पाक्ने तरकारी गुन्द्रुक होे । गुन्द्रुकलाई नेपालको मौलिक तरकारीका रूपमा लिइन्छ ।
हिमाल, पहाड र तराईमा समेत गुन्द्रुकको तरकारी र अचार चर्चित छ । नेपालीका भान्छामा गुन्द्रुकको तरकारी पाकेकै हुन्छ । यसका अचारसमेत बनेकै हुन्छ । साँधेको गुन्द्रुकको अचार जिब्रोमै झुन्डिन्छ भन्नेको बाहुल्य छ । यो सर्वप्रिय तरकारी पनि हो ।
गुन्द्रुकलाई हतारको तरकारी भन्ने गरिन्छ । र, हो पनि । कतिपयले आफू हतारमा हुँदा गुन्द्रुकको तरकारी पकाइहाल्छन् । पकाउन पनि त्यत्तिकै सजिलो । सरल र सहज पनि । यो साँधेर पनि खान सकिन्छ ।
भिटामिन ‘सी’ पाइने गुन्द्रुक नेपालको विशेष तरकारीका रूपमा चिनिन्छ । नेपाली मौलिक परिकार गुन्द्रुक विदेशीलाई समेत त्यत्तिकै स्वादिलो लाग्छ । तारेहोटलको ‘मेनु’मा गुन्द्रुक समेटिएकै हुन्छ ।
नेपालमात्रै होइन, विभिन्न शीर्षकमा विदेश पुगेका नेपालीले गुन्द्रुकको स्वाद बिर्सेका हुँदैनन् । उनीहरूले नेपालबाट मगाएरै गुन्द्रुकको तरकारी खाने गर्छन् । कतिपयले गुन्द्रुक कोसेलीका रूपमा विदेश पठाउने गर्छन् ।
गुन्द्रुकबाटै जीविकोपार्जन
चीनबाट समेत गुन्द्रुक आयात गरिन्छ भनेर सञ्चारमाध्यममा समाचार प्रकाशन तथा प्रसारण भएकै छन् । त्यसो हो भने गुन्द्रुकबाटै जीविकोपार्जन गर्न सकिने त्यत्तिकै सम्भावना छ । केवल इच्छाशक्ति र जाँगर चाहिन्छ । साग उत्पादन हुने मौसममा गुन्द्रुक धेरै बनाउन सके जीविकोपार्जन गर्न सकिने बताइन्छ । गुन्द्रुक उत्पादनबाट गतिलो आम्दानी गर्नेहरू बढ्दै गएका छन् । नेपाली पहिचान बोकेको गुन्द्रुक तारेहोटलमा प्रवेश पाएपछि गुन्द्रुक बेचेर जीविकोपोर्जन गर्न सकिनेमा ढुक्क हुन सकिन्छ ।
तानसेन नगरपालिका छापका २५ घरपरिवारले प्रतिकिलो ४०० रुपैयाँमा गुन्द्रुक बिक्री गरेको समाचार राष्ट्रिय समाचार समितिमा केही समयअघि प्रकाशित भएको थियो । समाचारअनुसार, उनीहरूले गुन्दु्रक बेचेरै जीविकोपार्जन गर्दै आएका छन् ।
गुन्द्रुक बनाउने तरिका
रायो, तोरी, मुलालगायतका विभिन्न किसिमका सागबाट गुन्द्रुक बनाइन्छ । सर्वप्रथम साग टिप्ने । त्यसपछि मज्जाले पखाल्ने । पखालेका साग केही दिन ओइलाउने । ओइलाएको साग ओखल, ढिकीमा कुट्ने । कतै–कतै माड्ने पनि गरिन्छ । कुटेको तथा माडेको सागलाई आफूसँग उपलब्ध भाँडामा खाँदेर राख्ने गरिन्छ । चारदेखि पाँच दिनदेखिमा भाँडामा राखेपछि झिकेर घाममा सुकाइन्छ । घाममा सुकाइएका गुन्द्रुक कम्तीमा एकरात शीतमा राख्नैपर्छ ।
कसरी बन्यो गुन्द्रुक ?
गुन्द्रुक यसरी नै बन्यो होला भनेर सोधियो भने ठ्याक्कै उत्तर दिन सकिँदैन । त्यतिबेला साग लामो समय राख्ने शीतभण्डार गृह हुने कुरै भएन । त्यसैले आवश्यकताभन्दा बढी भएको साग के गर्ने त ?
इच्छा भए उपाय कति–कति ? उपाय सुझ्यो– गुन्द्रुक बनाउने । साग जोगाउन गुन्द्रुक बनाउन थालियो होला । अन्ततः विश्वबजारमा गुन्द्रुक प्रसिद्ध तरकारी बन्यो ।
नेपाली उखानमा समेत गुन्द्रुकको प्रसंग जोडिएको छ । ‘गुन्द्रुककै झोलमा इज्जत नफाल्नू’ भन्ने प्रचलित उखानबारे धेरैलाई ज्ञात छ । गुन्द्रुक नखानेले समेत गुन्द्रुकसँग जोडिएको उखानबारे जानकार छन् ।
गाउँदेखि सहरसम्म ब्रोइलर कुखुराको मासुभन्दा गुन्द्रुक महँगो पर्छ ।
(तुवाचुङ वर्ष ४, अंक २७, २०७८ फागुन ६ गते शुक्रबार)