बंगलादेशमा सात रात

(राजुविक्रम चाम्लिङ)

दक्षिण एसिया सामाजिक मञ्चको अन्तर्राष्ट्रिय सेमिनार बंगलादेशको ढाकामा भएको थियो । २ देखि ६ मंसिर ०६८ सम्म ढाका विश्वविद्यालमा भएको सो सेमिनारमा भाग लिन पंक्तिकारसहित ६ नेपाली बंगलादेश पुगेका थियौं । सेमिनारमा ३२ भन्दा बढी देशका तीन सय ५० संघ–संस्थासम्बद्ध दस हजार प्रतिनिधि सहभागी थिए । सेमिनारको पहिलो दिन (२ मंसिरमा) तीन सय ५० संघ–संस्थाको झाँकीसहितको र्याली निकालियो । झाँकीसहितको र्याली दुलही लिएर फर्केको जन्तीजस्तै देखिन्थ्यो ।

ढाका विश्वविद्यालय ‘भाइस चान्सलर’ डा. आम्स अरेफिन सिद्धिकीले दक्षिण एसिया सामाजिक मञ्चको अन्तर्राष्ट्रिय सेमिनार उद्घाटन गरे । उद्घाटनपछि नेपाललगायत विभिन्न देशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिले आ–आफ्नो देशको तात्कालिक अवस्थाबारे विचार व्यक्त गरे । विचार राख्नेक्रममा भारतकी समाजशास्त्री कमला भासिनले भनिन्, ‘दक्षिण एसिया मात्रै होइन विश्वका महिलाले भोग्नुपरेको विकराल समस्या समाधान गर्न आममहिला र पुरुषको सहकार्य अनिवार्य छ ।’ समाजशास्त्री भासिनले समाज परिवर्तन गर्न सर्वप्रथम महिलामाथि हुने सामाजिक विभेद अन्त्य गर्नुपर्न औंल्याइन् ।

नेपाल, ब्राजिल, इराक, फ्रान्स, न्युजिल्यान्डलगायत सेमिनारमा सहभागी सबै देशका प्रतिनिधिले क्रमशः विचार व्यक्त गरे । सबै देशका प्रतिनिधिले विचार राखिसकेपछि आयोजित सांस्कृतिक कार्यक्रममा रमाउँदै पहिलो दिन बिताइयोे । सेमिनारको दोस्रो र तेस्रो दिन ‘जेन्डर एन्ड इक्वीटी’, ‘डेमोक्रेसी पार्टीसिपेसन एन्ड पिपुल मुभमेन्ट’, ‘हुमेन राइट्स एन्ड डिग्निटी’, ‘युवा सवाल’, ‘जीवन पद्धति सुरुक्षा र खान पाउनुपर्ने अधिकार’ लगायत शीर्षकमा छलफल तथा अन्तर्क्रिया भयोे ।

अन्तर्क्रियामा सहभागी बंगाली प्रतिनिधिको कुरा सुन्दा बंगलादेश पनि नेपालजस्तै रहेछ भन्ने जान्न पाएँ । भौगोलिक रूपमा समथर रहेको बंगलादेशमा प्रशस्तै ताल रहेछन् । यहाँका मानिसले रोटी र दाल अत्यधिक मन पराउँदा रहेछन् । उनीहरू भात कमै खाँदा रहेछन् । तरकारीमा नुन कम राखे पनि खुर्सानी भने धेरै हाल्दा रहेछन् । यहाँका मानिस बंगाली भाषा नै बोले पनि बीचबीचमा हिन्दी शब्द मिसाइहाल्छन् ।

बंगलादेशमा रहँदा विदेशी पर्यटक देखिएनन् । यहाँका महिलालाई पाइन्ट तथा हाफपाइन्ट लगाउन प्रतिबन्ध रहेछ । प्रत्येक महिलाका अनुहार बुर्काले छोपिएको हुन्थ्यो । यहाँका महिलाले कुर्तासुरुवाल लगाउन दिइए पनि जिन्स पाइन्ट पूर्ण प्रतिबन्ध लगाइएको नाम उल्लेख नगर्ने सर्तमा एक महिलाले बताइन् । पाइन्ट लगाएका महिला देख्दा अनौठो लाग्ने उनले बताइन् । सेमिनारमा भाग लिन पंक्तिकारसँगै ढाका पुगेकी नेपाली महिला सहयात्री जिन्स पाइन्ट लगाएर बंगलादेश घुमेको देखेर बंगाली महिला अचम्म मान्दै हेरिरहन्थे ।

मुस्लिम देशमा अविवाहित पुरुष र महिला सँगै हिँडडुल गर्न वर्जित छ । स्कुल तथा क्याम्पसका विद्यार्थी भने ब्वाइफ्रेन्ड र गर्लफ्रेन्डको झुन्डझुन्ड बनाएर हिँडेको देखिन्थ्यो । यहाँका कतिपय होटलमा मुस्लिमबाहेकलाई बस्न प्रतिबन्ध छ । स्पष्ट परिचयपत्रविना प्रायः होटलमा बास बस्न पाइँदैन । यसैगरी, महिला र पुरुष होटलको एउटै कोठामा बस्नु परे श्रीमान्–श्रीमती खुल्ने परिचयपत्र अनिवार्य चाहिन्छ । नत्र एउटै कोठमा बस्न पाइँदैन ।

नेपाली र बंगालीको कतिपय स्वभाव मिल्दाजुल्दा हुँदा रहेछन् । बंगाली विदेशी साथी देख्नसाथ परिचय गर्ने, नजिक हुन खोज्ने, खाना वा खाजा ‘अफर’ गर्दा रहेछन् । नेपाली र बंगाली खाना फरक हुने नै भए । बंगाली माछा, कुखुरा, गाई र घोडाको समेत मासु खाँदा रहेछन् । मासुको परिकार बनाउँदा ठुल्ठूलो टुक्रा बनाउँछन् । मासुको प्रत्येक परिकार एकजनालाई एक टुक्रा मात्रै बाँडिदोरहेछ । मुस्लिम देशमा मादक पदार्थ व्यापार गर्न पाइँदैन ।

पर्यटकीय हिसाबले चटगाउँ, बूढीगंगा प्रख्यात रहेछन् । बूढीगंगामा स–साना समुद्री जहाज चल्दारहेछन् । मैले पनि जहाज चढेर मज्जा लिएँ । यहाँ गुड्ने सार्वजनिक यातायातले काठमाडौं उपत्यमा चल्ने सफा टेम्पो, स्वयम्भू यातायातको झल्को दिन्छ । सस्तो र छिटोका लागि रिक्सा चढिँदोरहेछ । लामो होस् या छोटो दूरीका लागि पनि रिक्सा लोकप्रिय मानिन्छ ।

बंगलादेशमा समेत चाइनिज सामान पाइँदोरहेछ । लत्ताकपडा किन्न बजार पुग्नुभयो भने काठमाडौंको भृकुटीमन्डपलाई माथ गर्ने मोलमोलाइ हुन्छ । बंगलादेशमा उत्पादित सुतीको कुर्तासरुवाल भने प्रसिद्ध मानिँदोरहेछ ।

ढाका विश्वविद्यालय नजिकै रहेको भवानेश्वर मन्दिर हिन्दु धर्मावलम्बीबीच प्रसिद्ध रहेछ । आन्तरिक तथा बाह्य पर्यटक संसद् भवन, चिल्ड्रेन पार्क, राष्ट्रिय संग्राहलय, चटगाउँ, बूढीगंगा पुग्दा रहेछन् । यहाँका सहरी क्षेत्रका सडक दुवैतर्फ ६–६ लेनको वान वे र फराकिलोे छ । बंगाली जेब्रा क्रसबाट बाटो पार गर्न त्यति सचेत देखिएनन् । उनीहरु जहाँ मन लाग्यो त्यहींबाट बाटो पार गरिरहेका हुन्छन् । ढाका घुम्दा थाहा भो– यहाँका सडकको चोकचोकमा मूर्ति, सेना र सेनाको बन्दुक र लडाइँका सामग्री सजाएर राखिएका छन् । त्यस्तै, ठाउँठाउँमा बन्दुक, बन्दुकका मुर्तिसमेत राखिएका छन् ।

बंगलादेशमा सरकारीभन्दा गैरसरकारी संस्थाको मान्यता हुँदोरहेछ । प्रत्येक प्रशासनिक निकाय सरकारीभन्दा गैरसरकारी संस्था राज्य सञ्चालनमा हाबी छन् । यहाँ गैरसरकारी संस्थाले जे चाहन्छ सरकारले त्यो पूरा गर्नुपर्दो रहेछ । मंगलबार सार्वजनिक बिदा हुने बंगलादेशमा समेत गैरसरकारी संस्थाले १५ देखि २० र ३० देखि ५० जनाको समूह बनाएर दैनिकजसो आफ्नो मागसहित सरकारी कार्यालयमा धर्ना कसेको देख्न पाएँ ।

(२०६८)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार