(रमेश किरात)
लामो छलफलपछि केदारनाथ जाने निष्कर्षमा पुग्यौं । केदारनाथ भारतको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल । जाडो (डिसेम्बर) सुरु भइसकेको थियो । भारतको पन्जाव, चन्डीगढबाट यात्रा सुरु गर्यौं । छलफल गर्दा धेरै साथी थियौं । उता जाने बेला धर्मेन्द्र ढकाल, नवराज साहनी क्षेत्री, बालकृष्ण चौधरी, रामबाबु यादव, बब्लु यादव, दीपक जयसवाल, रितेश यादव र पंक्तिकार (रमेश किरात)मात्रै भयौं ।
चन्डीगढबाट १३ घन्टाको रेलयात्रापछि उत्तराखण्ड राज्यको ऋषिकेश टेक्यौं । त्यहाँदेखि उता रेल गुड्दैन । जति मनमोहक छ, हिन्दु धर्मावलम्बीका लागि ऋषिकेश त्यत्तिकै प्रसिद्ध धार्मिक तीर्थस्थल । त्यहाँ पुग्दा भारतीयमात्रै होइन, नेपाली तीर्थयात्रीसँग देखभेट भयो । बोलचाल गर्यौं ।
ऋषिकेषलाई अँगालो हालेर अविरल बगिरहने नदी । रहरलाग्दो मठमन्दिर, कुटी र धर्मशाला । केही माथि डाँडामा लोभलाग्दो हनुमान मन्दिर । केबलकारमा २० मिनेट यात्रा गरेपछि हनुमान मन्दिर पुग्यौं । दर्शन गरेर फक्र्याैं ।
ऋषिकेशमा चार घन्टा बितेको पत्तै पाएनौं । ऋषिकेशबाट २८ किलोमिटर दूरीमा हरिद्वार रहेको छ । हरिद्वार पनि प्रख्यात धार्मिक स्थल मानिन्छ । हामी त्यतै सोझियौं । ऋषिकेशभन्दा हरिद्वारमा तीर्थयात्रीको भीडभाड थियो । यहाँका मठमन्दिर, रामझुला, लक्ष्मणझुला, हनुमानझुला, शिव मन्दिर र सीतादेवीका ठुल्ठूला मूर्ति देख्दा अचम्मित नहुने को होलान् ? यहाँ स्थापित लुम्बिनी पार्क देख्दा झन् अचम्म लाग्यो । कपिलवस्तुमा रहेको भगवान् बुद्धको जन्मस्थल लुम्बिनीजस्तै आकृति । सबै–सबै मिलाएर बनाइएका पार्क । कतिपय भारतीयले यहीं हो, गौतम बुद्ध जन्मेका ठाउँ भन्न पछि पर्दारहेनछन् । हामीले होइन भनेर जिकिर गर्यौं ।
हरिद्वारमा समेत आकर्षक मठमन्दिर छन् । मन्दिरबीचमा बगिरहने नदी हेरिरहूँ लाग्छ । नदीमाथिको पुलमा सुस्ताउँदाको आनन्द शब्दमा व्यक्त गर्न कठिन हुन्छ । यहाँको नदीमा नुहाउँदा पाप पखालिने बताइन्छ । निःसन्तानले सन्तान प्राप्तिको वर माग्दारहेछन् । हरिद्वारमा पनि लामै अलमल भयो ।
हरिद्वारबाट पुनः ऋषिकेश फक्र्यौं । अबको यात्रा केदारनाथको । गाडी रिजर्भ गर्यौं । ऋषिकेशबाट नौ घन्टाको यात्रापछि सोनपर्याङ पुग्यौं । सोनपर्याङ केदारनाथको प्रवेशद्वार मानिँदोरहेछ । हामी सोनपर्याङमै बस्ने भयौं । केदारनाथको महिना भएकाले तीर्थालुको भीडभाड थियो । स–सानो बस्ती । तीर्थालुको भीडभाड । भएका होटल भरिभराउ । बस्नका लागि हामीले पाएको कोठा चित्तबुझ्दो थिएन । त्यस्तो कोठाको पनि प्रतिव्यक्ति १ हजार भारतीय रुपैयाँ बुझाउनुपर्ने । हामी त्यहाँ नबसी नजिकैको विश्राम वाटिकाको ठूलो हलमा सुत्ने निर्णय गर्यौं । त्यहाँ प्रतिव्यक्ति ५ सय भारतीय रुपैयाँ लिए ।
सोनपर्याङदेखि उता यातायातसाधन गुड्दैनन् । बिहानै लामबद्ध भयौं । चेक–जाँच गरे । लाइन तीन किलोमिटरको थियो । यो दूरी पार गर्न साढे दुई घन्टा लाग्यो । त्यसपछि केदारनाथको पदयात्रा सुरु हुन्छ । अबको यात्रा उकालैउकालो । २३ किलोमिटर उकालो यात्रा गरेपछि केदारनाथ पुगिन्छ । उकालो हिँड्न सक्ने र नसक्नेबीचको यात्रा पूरा गर्न समय लाग्ने नै भयो । तर, पहाडबाट चिरिएर बग्ने झरना, खोलाका साथै डाँडाकाँडा, चप्लेटी परेका सेता, काला चट्टान र वन–जंगलको मनोरम दृश्यले हाम्रा पीडा भुलाउन सघायो ।
जाडो भए पनि हिँडाइको ताप र वातावरणको रापले शरीरलाई अनुकूलित बनाइरह्यो । रोजगारीका लागि पश्चिम नेपालबाट त्यता पुगेका नेपाली दाजुभाइसँग भेटघाट भयो । परदेशमा नेपाली भाषा बोल्ने दाजुभाइ भेटिँदा कम्ती आनन्द लागेन । उनीहरूले वृद्धवृद्धा, अशक्तमात्रै होइन, उनीहरूको सामान बोकेर केदारनाथसम्मै पुर्याइदिन्छन् । सामान बोकेबापत प्रतिकिलोग्राम १२० भारतीय रुपैयाँ लिँदारहेछन् । ७५ केजीको सामान वा व्यक्ति बोकेबापत ९ हजार भारु पाउने रहेछन् । घोडा चढेर पनि केदारनाथ पुग्न सकिन्छ । मान्छेलाई बोकाएरभन्दा घोडा चढेर यात्रा गर्दा सस्तो पर्छ । बाटो उकालो, अप्ठ्यारो र साँघुरो भएकाले घोडाभन्दा मान्छेसँग बोकिमाग्छन् । हेलिकोप्टरबाट पनि केदारनाथ पुग्ने सुविधा रहे पनि महँगो रहेछ । एकतर्फीको २५ हजार भारु पर्ने सुनाइयो । छिटै हिँडे पनि केदारनाथ पुग्नुभन्दा चार किलोमिटर तलै बास बस्यौं । बस्नेलाई ठाउँ पर्याप्त थिएन । एक व्यक्तिमार्फत ‘सेटिङ’ मिलाएर होटल सञ्चालकलाई अतिरिक्त दुई हजार दिएर बस्ने ठाउँ मिलाउन अनुरोध गर्यौं । होटल सञ्चालकले आफू सुत्ने टेन्ट दिए । दुई हजारबाहेक प्रतिव्यक्ति ५ सय भारु दिन बाध्य भयौं । ३,६०० मिटर उचाइको बास । मध्यरातको तापक्रम माइनस ३ डिग्रीसम्म पुग्यो । मौसम चिसिएकाले निदाउन सकेनौं ।
बिहानै उठेर यात्रा थाल्यौं । केदारनाथभन्दा दुई किलोमिटर वरदेखि लाइन थियो । बिहान सात बजे लाइन बसे पनि दिउँसो तीन बजे दर्शन गर्यौं । त्यतिन्जेलसम्म भोकले अल्छी लाग्न थालिसकेको थियो । घोडा र मान्छेले बोकेर ल्याउनुपर्ने भएकाले खानेकुरा ५ गुना महँगो थियो । ‘स्वर्गको हावा’ सिधै आउँछ भन्ने विश्वासले केदारनाथ दर्शनका लागि हिन्दु धर्मावलम्बी मरिहत्ते गर्छन् ।
केदारनाथमा नेपाली भाषा बोल्न जान्ने पुजारीसमेत भेट्यौं । दर्शनका लागि उनले सहजीकरण गरिदिए । हामीले नेपाली झन्डा बोकेर केदारनाथ जाँदा केही भारतीयले आपत्ति जनाए । प्रहरीलाई समेत जानकारी गराएछन् । प्रहरी जवानले झन्डा लुकाउन निर्देशन दिए । मान्न करै लाग्यो । त्यत्तिकै दुःख पनि । नेपाली राष्ट्रिय स्वाभिमान लुकाउँदै, दबाउँदै केदारनाथ किन आएछु भनेर पश्चाताप लाग्यो । त्यतिबेला नेपाली भाषी पुजारीले साथ दिए । उनले भारतीयलाई स्वाभिमानको पाठ र स्वतन्त्रताको सवक सिकाए । खुसीले मन तीन फिट उफ्रेको अनुभूति गर्यौं ।
चारधाममध्येको भारतको प्रसिद्ध धार्मिक स्थल केदारनाथ दर्शन गरेपछि असाध्यै आनन्द लाग्यो । धार्मिक मान्यताअनुसार सतीदेवीको निधनपछि महादेव शोकाकुल बने । शोकाकुल महादेवले शव बोकेर संसार परिक्रमा गर्दा सतीदेवीको अंग जहाँ–जहाँ खस्यो, त्यो ठाउँ धाममा परिणत भएको बताइन्छ । सतीदेवीको कम्मरभन्दा तलको भाग भारतको केदारनाथ, ऋषिकेश, हरिद्वारमा र शिरचाहिँ पशुपतिनाथमा खसेको बताइन्छ । अन्ततः सतीदेवीको कम्मरभन्दा तलको भाग खसेको भारतका तीन धाम दर्शन गर्यौं । भारतका तीन धाम दर्शन गर्नेले पशुपतिनाथ पुग्नैपर्ने धार्मिक मान्यता रहेको छ । चारधाममध्ये पंक्तिकार शिरकै मानिस परेकोमा गौरव गर्दै केदारनाथलाई ‘बाइबाई’ गरें ।
(तुवाचुङ साप्ताहिक, २०७९ माघ ६ गते शुक्रबार)