(तिलक चाम्लिङ)
दुर्छिम । महिनामा तीनपटकसम्म उनी विदेश जान्थे । चाहेको भए राम्रै देशमा राम्रै कमाएर बस्थे । अझै पनि उनले त्यो हैसियत राख्छन् । उनले विदेशका राम्रा अवसर त्यागे । ‘एकेडेमिक’ अध्ययन पनि पूरा गरे । दुःख पनि धेरै गरे । उनले बुझे– अन्ततः राजनीति नै प्रमुख रहेछ । उनी राजनीति गर्छु भनेर गाउँ फर्के । विदेश गएनन् ।
जनताका लागि उनी यतिसम्म खट्छन् कि गाउँमा दुर्घटनामा परेको घाइतेलाई उठाएर, हेलिकोप्टरमा चढाएर, आफू मोटरसाइकलमा हुइँकिएर बिरामीलाई सान्त्वना दिन काठमाडौं पुगिहाल्छन् ।
तलदेखि माथिसम्मै पहुँच भए पनि उनी धेरै बोल्दैनन् । गफ हाँक्दैनन् । उनी ज्ञानी छन् । छट्टु छैनन् । मान्छेलाई उल्लु बनाउँदैनन् । छिर्केनी हाल्दैनन् । उनका कुरा आमाबाहरूले सुन्छन् । बुद्धिजीवीहरूले पनि सुनेकै छन् । उनले धेरैभन्दा धेरै भाइबहिनीका कुरा सुन्छन् । उनले भनेपछि भाइबहिनी मान्छन् । उनी छोटो समयमै लोकप्रिय बने । स्थानीय तहमा जमे ।
राजुविक्रम चाम्लिङ हो, उनको नाम । उनको निधार माओ त्से तुङको जस्तै लाग्छ । त्यसकारण उनी मलाई मन पर्छ । कामले मानिस सुन्दर हुने हो । काम गर्न छोडे भने अथवा अल्छी भए भने मलाई मन नपर्न पनि सक्छ । तर, अहिले उनी मलाई मज्जा लाग्छ । गज्जब लाग्छ । उनलाई पार्टीले राष्ट्रिय युवा संघ नेपाल, खोटाङको इन्जार्ज बनाएछन् । यसो हुनुमा हलेसी क्षेत्रलाई पार्टीले सम्बोधन गरेको बुझेको छु । हामी सबैको सम्मान हो । उनलाई हार्दिक बधाइ । नेकपालाई धन्यवाद ।
पछिल्लो चरणमा हलेसी क्षेत्रमा नेकपामा मात्र होइन, अन्य दलमा पनि थुप्रै युवा नेताहरूमा राम्रो सम्भावना देखिन थालेको छ । धेरैले नेतृत्व विकास गरिरहेका छन् । अरू युवा साथीहरूलाई पनि हरेक क्षेत्रमा यसरी नै बधाइ दिने अवसर जुरोस् । हावाहुरी, भलबाढी, घामपहिरो सधैं आइरहन्छ । गइरहन्छ । खप्न सक्नुपर्छ । सतिसालजस्तै टिक्न सक्नेमात्र नेता हुन सक्छन् । जो जहाँ भए पनि हलेसी समृद्धि हाम्रो मुख्य उद्देश्य बनोस् । हलेसीमा युवा नेतृत्व जन्माउन कसरत गरिरहनुभएका सबै पार्टीका अग्रज नेताज्यूहरूलाई धन्यवाद ।
(तुवाचुङ साप्ताहिकबाट)