(दीपेन्द्र राई)
त्यतिबेला शिक्षाभन्दा हलोको कदर गरिन्थ्यो । ‘पढी–गुनी के काम हलो जोती खायो माम’ भन्ने भनाइले मान्यता पाएको थियोे । त्यो मान्यता आत्मसात् गर्दै साबिक दुर्छिम गाउँ विकास समिति –१ साल्तेम्मा खोटाङका रत्नप्रसाद राई विद्यालय जान थाले । राईले हलो र शिक्षालाई समान रूपमा हेर्दै विद्यालय जान थालेपछि ‘फलानाको छोरा पढ्न थाले, चोर बन्ने भो’ भन्ने अप्टिक लाग्न थाल्यो । आफूमाथि लागेको अप्टिकको पर्वाह नगरी उनी विद्यालय जान छाडेनन् ।
दुर्छिम गाविस–५ दुर्छिममा रहेको दामोदर महासिं प्राथमिक विद्यालयमा पाँच कक्षासम्म पढाइ हुन्थ्यो । राई त्यही विद्यालयमा भर्ना भए । उनले तीन कक्षा उत्तीर्ण गरेपछि चार नपढी पाँच कक्षामा फड्को मारे । पाँच कक्षा उत्तीर्ण गरेपछि अर्काे समस्या आइलाग्यो । ७६ गाविस रहेको खोटाङमा त्यतिबेला नौवटा माध्यमिक विद्यालयमात्रै थिए । हलेसी क्षेत्रमा प्राथमिक तहको मात्रै पढाइ हुन्थ्यो । पढ्न चाहनेले बुइपा पुग्नुपर्थ्यो । उनले बुइपा गएर पढ्ने निधो गरे । परिवारले सहमति जनाए ।
पाँच कक्षा उत्तीर्ण गरेको प्रमाणपत्र बोकेर बुइपा पुगेका रत्नप्रसाद राई आठ कक्षामा भर्ना भए । त्यतिबेला जेहेनदार विद्यार्थीलाई कक्षा फड्को मार्न लगाइन्थ्यो । वरिष्ठ कवि जसराज किरातीको घरमा डेरा । आवश्यक सबै चीज घरबाटै बोक्ने गरिन्थ्यो । घरभन्दा पर बसेर अध्ययनलाई निरन्तरता दिएका उनी कत्ति पनि विचलित भएनन् । गाउँकै रोमबहादुर राई र भूपेन्द्रकुमार राई सहपाठी थिए भने रोमबहादुर र रत्नप्रसाद एउटै कोठामा डेरा बस्थे । त्यसो भएपछि विचलित हुने कुरै भएन । १, २, ३ पछि ४ नपढी ५ कक्षा पढेका रत्नप्रसाद ६ र ७ कक्षा नपढी ८ मा भर्ना भए पनि पढाइमा अब्बल ठहरिए । ८, ९ र १० कक्षा बुइपामा पढेका उनले एसएलसी परीक्षा भने दिक्तेलबाट दिए ।
रत्नप्रसाद, रोमबहादुर र भूपेन्द्रकुमार तीनैजना एसएलसीमा उत्तीर्ण भए । यो संवत् २०३५ सालको कुरा हो । रत्नप्रसाद राई चाम्लिङ राईअन्तर्गत मान्सुङ्छा पाछामै एसएलसी गर्ने पहिलो व्यक्ति बने । मान्सुङ्छामै पहिलोपटक एसएलसी उत्तीर्ण गरेपछि परिवारमा खुसियाली नछाउने कुरै भएन । बधाइको वर्षा नै भयो । एसएलसी उत्तीर्ण हुनसाथ उनले शिक्षण पेसा थाले । उनले दामोदर महासिं प्राविमा पढाउन थाले । करिब ६ महिनापछि उनी त्यहाँबाट सरुवा भएर राखा–बाङ्देल पुर्याइए । घरछेउमै पढाइराखेको शिक्षक किन राखा–बाङ्देल पुर्याइए ? उनले गर्विलोपारामा भने, ‘त्यतिखेर बहुदल र निर्दलको निर्वाचन भएको थियो । मैले बहुदलमा भोट हालें र अरूलाई पनि हाल्न लगाएँ भनेर मलाई सरुवा गरिदिए ।’
राखा–बाङ्देलमा १३ महिनासम्म पढाएका उनले त्यही समय शिक्षा आयोग पास गरे । पहिलोपटकमै शिक्षा आयोग पास गरेका उनी स्थायी शिक्षकका रूपमा मंगलटार गाविसमा रहेको पीपलडाँडा प्राविमा पोस्टिङ भए । उनले त्यहाँ प्रधानाध्यापकको भूमिकासमेत निर्वाह गरे । मंगलटारमा पढाइरहेका उनी एक्कासि बुवालुङ प्रावि छोरम्बु पुर्याइए । ‘मंगलटारबाट बुवालुङ पुर्याइनुको कथा झन् रोचक छ,’ उनले अतीत सम्झे, ‘त्यतिबेला कांग्रेसको सरकार थियो । म कम्युनिस्ट भएकाले मलाई सरुवा गराए । विरोधस्वरूप सरुवा गराइएको विद्यालयमा पढाइनँ । हाजिर पनि गरिनँ । यो २०४८ सालको कुरा हो ।’
रत्नप्रसाद राईले शिक्षण पेसामा रहँदा दामोदर महासिं प्राविमा दुईपटक, रातमाटे प्रावि रातमाटे, पीपलडाँडा प्रावि मंगलटार, राखा–बाङ्देल र दुर्छिम माध्यमिक विद्यालयमा समेत पढाए । दुर्छिम मावि र राखा–बाङ्देलबाहेक सबै विद्यालयमा प्रधानाध्यापकको भूमिका निर्वाह गरे । सफल पनि भए । अस्थायी शिक्षक हुँदा मासिक १२५ रुपैयाँ तलब थाप्थे । अवकाश लिँदा उनको तलब ५ हजार ६ सय रुपैयाँ थियो । उनले २०६० सालमा अवकाश लिएका थिए । अवकाशपछि पनि उनले केही समय स्थानीय बोर्डिङ स्कुलमा पढाएर फुर्सदको समय सदुपयोग गरेका थिए ।
(तेस्रो आँखा डटकमबाट)