बालुवामा फुल्दै गरेको कमल

(दीपेन्द्र राई)

सुनकोसी आफ्नै गतिमा बगिरहेकी छन् । सुनकोसीको सुसाइ कम्ती श्रवणीय लाग्दैन । सुनकोसीको सुसाइ सुन्नेको कान पवित्र बनाइदिन्छ । मानव जीवन पनि त सुनकोसीजस्तै हो । आफ्नै गतिमा बगिरहन्छ । बगेको पानी फर्काउन सकिँदैन । जीवन पनि त्यस्तै हो ।

आफूबाट छुटिगएको जीवनप्रति कमल मायाराजाहोंछा राईलाई कत्ति पनि गुनासो छैन । हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम, गणेशटार, खोटाङनिवासी राई विगतमा आफूले गरेको कर्मप्रति सन्तुष्ट छन् । आफूले गरेको कर्मप्रति खुसी छन् । आगतमा उदाहरणीय र सराहनीय कर्म गर्न प्रतिबद्ध छन् । कर्म गरेपछि फल प्राप्त हुन्छ भन्नेमा ढुक्क छन् । रोपेपछि फुल्छ । अनि फल्छ पनि । फल लागेन भने अपवाद ठान्नु त छँदै छ ।

राई जीवन निर्वाह गर्न आफूले जानेको काम गर्छन् । काम गर्न लाज मान्दैनन् । दुई छाक खान अरूको श्रम शोषण गर्दैनन् । दुर्छिमको सुनकोसीकिनार छैंटोमा सामान्य होटल थापेका छन् । आर्जनको बन्धिलो स्रोत त्यत्ति हो । त्यसअघि सोलुखुम्बु र ओखलढुंगातिर टहलिए । सोलुखुम्बु र ओखलढुंगातिरको हाइड्रोपावर अनि सिँचाइ आयोजनामा पसिना बगाए । पेटी ठेक्कामा काम लिएर अरूलाई श्रमको गीत गाउन जाँगरिलो बनाए ।

दुई छाक खानका लागि मात्रै उनले मरिहत्ते गरेका हुन् त ? होइन नि । सचेत नागरिक भएको नाताले आफूलाई मन परेको राजनीतिक दलको सदस्य बनेर राजनीतिक यात्रामा यात्रारत छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) वडा समिति अध्यक्ष कमल मायाराजाहोंछा राईको राजनीतिक भूमिका अध्यक्षबाटै सुरु भएको थियो । हलेसी तुवाचुङ नगरपालिका ५ नम्बर वडा समिति अध्यक्ष राईले भीम–ज्वाला जनसांस्कृतिक परिवारको अध्यक्षको भूमिकाबाट राजनीति थाले ।

माओवादी सशस्त्र जनयुद्धमा ज्यान गुमाएका हविन राई ‘भीम’ (दुर्छिम, कोटगैरा) र तविन राई ‘ज्वाला’ (दुर्छिम, रातमाटे) को सम्मान र सम्झनामा स्थापित भीम–ज्वाला जनसांस्कृतिक परिवारको पहिलो अध्यक्ष भएर राजनीतिक यात्रा थालेका उनी हिजोआज पनि अध्यक्षकै भूमिकामा छन् । ‘पद अस्थायी हो,’ उनको भनाइ छ, ‘स्थायी भनेको त कर्ममात्रै हो नि । कर्म गर्दै जानुपर्छ । फल अवश्य प्राप्त होला ।’

गनिल्याउँदा १७ वर्ष भएछ, राजनीतिको मूलबाटो पछ्याउन थालेको । संवत् २०६३/०६४ मा स्थापित भीम–ज्वाला जनसांस्कृतिक परिवारले त्यतिबेला खुला एकल गायन प्रतियोगिता गरेको हिजैजस्तो लाग्छ । देउसी–भैलो खेलेर संकलित रुपैयाँले प्रतियोगिता गरिएको थियो । तीन वर्ष अध्यक्षको भूमिकामा रहँदा गरेको देखिने काममध्ये गायन प्रतियोगितामा पनि एक थियो । प्रतियोगितामा अनिल राई प्रथम र हसिना राई चौथो भएकी थिइन् । दोस्रो र तेस्रो हुनेको नाम उनले सम्झन सकेनन् ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) हलेसी तुवाचुङ नगर समिति सचिवालय सदस्य र वडा समिति उपाध्यक्षको भूमिकासमेत निर्वाह गरिसकेका नेता राईले २०८० मंसिरदेखि वडा समिति अध्यक्षको भूमिका निर्वाह गर्दै आएका छन् । पार्टीले दिएको जिम्मेवारी इमानदारपूर्वक निर्वाह गर्न त्यत्तिकै प्रतिबद्ध छन् । खनेको बाटो हिँड्न पाइन्छ भन्ने नेपाली उखान प्रचलित छ । प्रचलित उखान आत्मसात् गर्दै अध्यक्षको भूमिका निर्वाह गर्न विचलित नहुने उनको भनाइ छ ।

हुन त उनको नाम कमल हो । कमल हिलोमा मात्रै फुल्छ । तर, कमल सुनकोसीको बालुवामा पनि फुल्दोरहेछ नि ! सुन्नेलाई अचम्म लाग्ला– बालुवामा पनि कमल फुल्छ र ? कमल हिलोमा मात्रै फुल्छ भनेर थाहा पाउनेले दुर्छिम छैटोंको सुनकोसीकिनार पुग्नूस्– त्यहाँ बालुवामै कमल लोभलाग्दो गरी फुलिरहेको देख्नुहुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार