(पवन चाम्लिङ राई)
मनोरञ्जन लिने उपाय कति छन् कति । जानियो भने चंगा उडाएरसमेत मनोरञ्जन लिन सकिँदोरहेछ । संसारभरि चंगा उडाएर मनोरञ्जन लिनेको कमी छैन । चंगा उडाउनुलाई शुभ–सगुनका रूपमा लिने पनि त्यत्तिकै छन् ।
दसैं नजिकिँदै गर्दा नेपाली आकाशमा रंगीचंगी चंगा उडिरहेका देखिन्छन् । आकाशमा उडेको चंगा देख्दा जोकोही रोमाञ्चित हुन्छन् । चंगाबारे जानकारहरू भन्छन्, ‘नेपालमा भदौदेखि कात्तिकसम्म चंगा उडाइन्छ ।’
गाउँघरतिर रहरेले हिउँदमा चंगा उडाउने गर्छन् । नेपालमा मात्र होइन, संसारका थुप्रै देशमा चंगा उडाउने गरिन्छन् । सहरतिर चंगा उडाउने प्रतियोगितासमेत गरिन्छन् । हुन त गौतम बुद्ध जन्मनु चार÷पाँच सय वर्षपहिले चंगा उडाइन्थ्यो । चीनमा एकले अर्को राज्यबीच जासुसी गर्न चंगा बनाएको सन् ७१३ मा लेखिएको एक पुस्तकमा उल्लेख छ ।
नेपालमा कहिलेदेखि चंगा प्रचलनमा आएको थियो भनेर भन्न सक्ने आधिकारित दसी प्रमाण छैन । तर, कतिपय नेपालीले चंगा बिक्रेता रूपमा समेत परिचय बनाएका छन् । चंगा उडाए पानी पर्दैन भन्ने नेपालीको जनविश्वास छ ।
चंगा संसारभरि लोकप्रिय मानिन्छ । चीनलाई चंगा आविष्कारक ठानिन्छ । तर, जापानमा जस्तो चंगामोह सायदै अन्य देशमा देखिएला । संसारभरि विभिन्न शैली र आकार–प्रकारमा चंगा बनाइन्छन् । तर, नेपाली चंगा मौलिक हुन्छन् ।
विभिन्न देशमा विभिन्न उद्देश्यसाथ चंगा उडाउने मान्यता छ । ती मान्यता थाहा पाउँदा जोकोहीलाई अचम्म लाग्नु अस्भावाभाविक होइन ।
नेपाल
चंगा उडाए पानी नपर्ने जनविश्वास ।
चीन
चंगा उडाउनुको अर्थ रोगव्याधीबाट मुक्ति पाउनु । दुष्टात्मा धपाउने प्रयास ।
जापान
सालिन्दा नयाँ वर्षमा चंगा उडाइने । जापानी बाबुले छोराका नाममा चंगा उडाउने ।
भारत
माघेसंक्रान्तिमा चंगा धेरै उडाइने ।
कोरिया
दुर्भाग्य तथा दुष्टात्मा भगाउन ।
श्रीलंका/थाइल्यान्ड
चंगा उडाए मरेपछि स्वर्ग पुगिन्छ भन्ने विश्वास ।
(तुवाचुङ साप्ताहिक, २०७७ असोज २३)