(दीपेन्द्र राई)
तिप्पा (बडाबा)का छोरा राजकुमार राई अनेरास्ववियु छैटौंमा थिए । राजेश गिरी (हलेसी), सुरेश राई (ऐंसेलुखर्क), कृष्ण राउत, डिकमान राउत (दुर्छिम), धीरेन्द्र राई (हात्तीटार), अजम्बर राई, अम्बर राई (चिचिङ्गा, सल्ले) पनि छैटौंमै थिए ।
डिल्ली चाम्लिङ राजकुमार राईलाई पछ्याउँथे । राईले हिँडेको बाटोमा हिँड्दा चाम्लिङ पनि रमाइरहेका थिए । यो संवत् २०४८ सालतिरको कुरा हो । त्यही समय प्रतिनिधिसभाको निर्वाचन हुने भयो । सर्वधन राई (सल्ले)ले कांग्रेसबाट टिकट पाए । राईले टिकट पाएपछि कृष्ण राउत, डिकमान राउत, फलामसिं राईमात्रै होइन, राजकुमार राईसमेत कांग्रेस पार्टी प्रवेश गरे । सर्वधन राई पूर्वराज्यमन्त्री हुन् ।
राजकुमार राईले हिँडिरहेको बाटो डिल्ली चाम्लिङको रोजाइमा परेन । तर, ०४९ वैशाखमा भएको स्थानीय निकाय चुनावमा चाम्लिङले दुर्छिम गाउँ विकास समिति अध्यक्षका उम्मेदवार राजकुमार राईलाई मदादान गरे । त्यस्तै वडासदस्यका उम्मेदवार छत्रसेर राईलाई पनि मतदान गरे । राईद्वय कांग्रेसका उम्मेदवार थिए । उनले मतदान गरेका गाविस अध्यक्ष राजकुमारले २५ र वडासदस्य छत्रसेरले २ मतले निर्वाचित भए । राजकुमार राई साबिक दुर्छिम गाविसबाट निर्वाचित पहिलो अध्यक्ष हुन् ।
त्यतिबेला रत्नप्रसाद राई, भूपेन्द्रकुमार राई, सजना राई, बलिसुन्दर राई, केसीराज राई, बयानसिं राई (दुर्छिम), रमेश गिरी (हलेसी) अनेरास्ववियु पाँचौंमा थिए । ‘भूपेन्द्रकुमार राई, बलिसुन्दर राई, बयानसिं राईहरू ‘बसाइँ हिँड्नेको ताँतीले’ शीर्षाकृत गीत गाउँदै संगठन विस्तार गर्दै हिँड्थे,’ उनले जानकारी गराए, ‘जनमोर्चाको संगठन विस्तार बलियो थिएन । मालेको प्रभाव अर्थपूर्ण देखिन्थ्यो ।’
रत्नप्रसाद राई, बलिसुन्दर राई, केसीराज राईलगायतले उनलाई माले प्रवेश गर्न अनुरोध गरे । ‘हामी एउटै पोखरीको माछा भएर पौडिनुपर्छ,’ आदरणीय तीन राईले ‘कन्भिस’ गरेको उनले अतीत सम्झे, ‘तर, मेरो आत्मालाई मोहित बनाउनेचाहिँ रत्नप्रसाद राई र बलिसुन्दर राई हुन् ।’
पोखरा महाधिवेशनबाट एमाले र माले एकीकृत भइसकेका थिए । ०४९ मंसिरमा उनी एमाले प्रवेश गरे । लगत्तै एमाले गाउँ कमिटी उपसचिवको भूमिका पाए । त्यसताकासम्म उनी दुर्छिमवासी नै थिए । ०५४ मा गाउँ कमिटी सचिव भए । यो साबिक दुर्छिम गाविसका ९ वडा समेटेर गठित गाउँ कमिटी थियो । ०६१ सम्म सचिवको जिम्मेवारी सम्हाले ।
राजनीतिक यात्राले मूलबाटो पहिल्याइसकेको थियो । नेता चाम्लिङ ६ नम्बर इलाका कमिटी सचिवमा पदोन्नति भए । साबिक डिकुवा, बाहुनीडाँडा, च्यास्मिटार, बडहरे, दुर्छिम र महादेवस्थान गाविस समेटेर एमालेले ६ नम्बर इलाका पार्टी कमिटी निर्माण गरेको थियो । ०६३ देखि ०६७ सम्म कुशलतापूर्वक सचिवको जिम्मेवारी पूरा गरे ।
एमालेले विश्वास गरेर ६ नम्बर इलाका कमिटीको नेतृत्वदायी भूमिका दियो । उनी इलाका कमिटी अध्यक्ष भए । ०६८ देखि ०७१ सम्म अध्यक्षको गरिमामय भूमिका निर्वाह गरे । कामले काम सिकायो । भूमिकाले भूमिका थपिँदै गयो । ०७३ देखि अहिलेसम्म एमाले जिल्ला कमिटी खोटाङ सचिवालय सदस्यको भूमिकामा छन् । दुई कार्यकाल भयो उनले यो भूमिका पाएको ।
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान पूर्ववडासदस्यसमेत रहेको नेता डिल्ली चाम्लिङ ०७८ कात्तिक ९ को एमाले हलेसी तुवाचुङ नगर कमिटी अधिवेशनबाट अध्यक्षमा निर्वाचित भए ।
०४८ बाट थालेको राजनीतिक यात्राले निरन्तरता पाएकै छ । राजनीतिलाई विभिन्न तरिकाले अथ्र्याइन्छ । तर, नेता चाम्लिङको व्यावहारिक बुझाइमा राजनीति भनेको विशुद्ध समाजसेवा हो । राजनीतिक समाजसेवा गर्न फराकिलो मन र व्यवहार चाहिन्छ ।
‘राजनीति भनेको विशाल वरको रूख हो,’ लेखक केशव दाहालको भनाइ छ, ‘जुन रूखले सुरक्षा, शीतल र न्यानो दिन्छ ।’ लेखक दाहालसँग उनी सहमत छन् । राजनीतिले सुरक्षा, शीतल र न्यानोपन दिनुपर्छ । दिएन भने राजनीति लाजनीतिमा परिणत हुँदै जान्छ ।
कात्रो किन्ने पैसा नभएपछि कार्ल माक्र्सले आफ्नै कोटमा बेरेर छोरीको अन्त्यष्टि गरेको उनलाई थाहा छ । स्थानविशेषमा यस्ता दुःख छँदै छन् । उनले दुःखमा परेकालाई सक्दो सहयोग गर्छन् । व्यवसायबाट हात पारेका आम्दानीको केही प्रतिशत समाजसेवामा खर्चिनु उनको अभियानजस्तै बनेको छ । खानेकुरा नभएकालाई खाद्यान्न बाँड्छन् । औषधोपचार गर्न नसकेकालाई आर्थिक सहयोग गर्न कन्जुस गर्दैनन् । विपन्न, प्राकृतिक प्रकोपपीडित र शारीरिक रूपमा अशक्तले उनलाई दुःखका सहारा ठान्छन् ।
हलेसी तुवाचुङ नगरपालिकाका विभिन्न संघ संगठनलाई सहयोग गरेकै छन् । स्थानीय स्तरका खेलाडीलाई प्रोत्साहन गर्न भलिबल, नेट, फुटबल किन्न आर्थिक सहयोग गर्दै आएको थुप्रै भयो । त्यतिमात्रै होइन, महादेवस्थानकै गैरीगुठ र ऐंसेलुखर्कमा क्रिश्चियन धर्मावलम्बीद्वारा निर्मित चर्च सञ्चालन तथा व्यवस्थापनका लागि उनले सहयोग गरेकै छन् । खामाखा खार्चुङ समाज ऐंसेलुखर्क परिवार उनीदेखि अनुगृहित छन् । पन्चकन्या न्यु भिजन सेवा समाज (दुर्छिम, कोटगैरा) र सुम्निमा पारुहाङ सेवा समाज (महादेवस्थान)ले पनि सहयोग पाएकै छन् । नेता चाम्लिङले दुवै संस्थालाई कार्यालयीय सामग्री किनेर उपलब्ध गराएका थिए । आमाआपाको सम्मान र सम्झनामा स्थानीय स्तरबाट प्रकाशित पत्रिकाको नाममा पत्रकारिता पुरस्कार स्थापना गरेर दुई वर्ष पुरस्कार प्रदान गरे ।
नेता चाम्लिङले आमा गउनसरी राई र आपा इन्द्रसेर राईको सम्मान र सम्झनामा महेन्द्रोदय माध्यमिक विद्यालय महादेवस्थानमा लोभलाग्दो प्रवेशद्वार निर्माण गरेका छन् । प्राविधिक ‘स्टिमेट’का आधारमा २ लाख ६६ हजार रुपैयाँमा प्रवेशद्वार निर्माण गरिएको हो ।
५२ हिउँद, बर्खा झेलेका उनले राजनीतिमा लागेर पूरा गर्नैपर्ने इन्द्रेणी सपना देखेका छैनन् । एकताका चिया बेच्दै हिँड्ने नरेन्द्र मोदी भारतका प्रधानमन्त्री बने । ‘थर्ड डिभिजन’मा एसएलसी पास गरेका महात्मा गान्धीले विश्वचर्चित नेताको उपमा पाए । दाउरेको छोरा अब्राहम लिंकन अमेरिकी राष्ट्रपति बने ।
डिल्ली चाम्लिङलाई राजनीतिमा लागेर मोदी, गान्धी र लिंकनजस्तो बन्नु छैन । समाजसेवी राजनीतिक प्राणी बन्ने लोभबाहेक अन्य स्वार्थ छँदै छैन । पहिलो स्थानीय तह निर्वाचनलगत्तै एमाले खोटाङले चाम्लिङलाई जिल्ला समन्वय समितिमा पठाउने निर्णय गर्यो । तर, उनले अस्वीकार गरे । राजनीतिमार्फत गाउँठाउँमै अर्थपूर्ण योगदान पुर्याउन लोभिइने उनी गाउँठाउँकै जनतासँग हातेमालो गर्न रुचाउँछन् । आफूसम्बद्ध पार्टी नेताका पहलमा केन्द्र र प्रदेशबाट विनियोजित बजेट उपयुक्त ठाउँमा सदुपयोग गर्न सक्रिय रहन्छन् ।
(वर्ष ५, अंक २५, २०७९ माघ १३ गते शुक्रबार)