(मान्सुङ्छा डटकम संवाददाता)
काठमाडौं । कवि तथा गजलकार विक्रम चेतनशील राईले लेखेको एक गजललाई २० हजार रुपैयाँ पारिश्रमिक दिएर गायक तीर्थ याम्फूले गाउने भएका छन् । संखुवासभानिवासी गायक याम्फूले कवि तथा गजलकार राईको गजल सरल र बोधगम्य लागेकाले सिर्जनाको सम्मान गर्दै स्वेच्छाले २० हजार रुपैयाँ दिएर गाउन लागेको बताए ।
आफूले लेखेको गजलले २० हजार रुपैयाँ पारिश्रमिक पाउँदा कवि तथा गजलकार राईले खुसी व्यक्त गरे । उनले टेलिफोनमा भने, ‘कुनै पत्रिकामा प्रकाशित भएको भए त्यही गजलले धेरैमा ६ सय रुपैयाँ पाउँथ्यो । तर, त्यही गजलको सम्मान गर्दै गायक याम्फूले २० हजार थमाउँदा थप सिर्जनशील बन्न हौसला मिलेको छ ।’ उनले गजलबाट हात लागेको पारिश्रमिकले जीवनभरि सम्झिरहने सामान किन्ने योजना सुनाए ।
अन्तर्राष्ट्रिय कलकार संघ कतार पूर्वअध्यक्षसमेत रहेका गायक याम्फूको ‘कलेक्सन एल्बम’ समेटिएको राईको गजललाई संगीतकार मंगल विकले संगीत भरेका छन् । कवि तथा गजलकार राई र गायक याम्फू दुवै वैदेशिक रोजगारीमा कतारमा रहेका छन् । कवि तथा गजलकार राईको कविता, गजल, गीत र मुक्तक गरी ५ सयभन्दा बढी सिर्जना विभिन्न पत्रपत्रिकामा प्रकाशित भइसकेका छन् ।
२० हजार रुपैयाँ पारिश्रमिक पाएको कवि तथा गजलकार विक्रम चेतनशील राईको गजल यस्तो छ ।
आस्था पुज्ने देउरालीमा फूल हुन्छ, पाती हुन्छ
कहीं भमरा बेइमान हुन्छ, कहीं फूल नै घाती हुन्छ ।
रुँदा सँगै रुने मान्छे, हाँस्दा सँगै हाँस्ने मान्छे
अचेल मेरो मुटु जल्दा, तिमीलाई किन जाती हुन्छ ।
कोही भन्छन् पागल रे म, कोही भन्छन् दोषी तिमी
तिम्रो मेरो सम्बन्धको, कुरा नानाभाँती हुन्छ ।
भैगो छोड फूलको कुरा, भैगो छोड भमराको
उज्यालोमै सम्झौता होस्, नत्र धेरै राति हुन्छ ।
आऊ लेखौं एउटा कथा, पिरती र चौतारीको
त्यहीं हाम्रो गन्तव्यको, एउटा वीरेठाँटी हुन्छ ।
(नयाँपेज डटकम, २०७२ पुस २८)