राजनीतिमै ‘होलटाइमर’

(दीपेन्द्र राई)

‘राजनीति गर्छु भन्ने लागेकै थिएन,’ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) हलेसी तुवाचुङ नगरपालिका नगर समिति अध्यक्ष राजुविक्रम चाम्लिङले सुनाए, ‘तात्कालिक माओवादी पार्टीले मेरो संयोजकत्वमा गणेशटार गाउँ कमिटी गठन गर्यो । मलाई जबर्जस्ती संयोजक बनाइयो । त्यसपछि म तीन वर्ष गाउँ फर्किनँ ।’

नेकपा (माओवादी केन्द्र) हलेसी तुवाचुङ नगरपालिका नगर समिति अध्यक्ष चाम्लिङले त्यतिबेला पार्टीले दिएको भूमिका निर्वाह नगरी भद्र अवज्ञा गरे पनि हिजोआज त्यही पार्टीको ‘होलटाइमर’ बनेका छन् ।

अनेरास्ववियु प्रारम्भिक कमिटी सदस्य

हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम छापडाँडामा रहेको दुर्छिम माध्यमिक विद्यालयमा ७ कक्षामा अध्ययन गर्दै गर्दा उनले नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियु प्रारम्भिक कमिटी सदस्यको भूमिका पाए । यो संवत् २०४७/०४८ सालको कुरा हो । ‘त्यतिबेला सेन्ड अप टेस्ट परीक्षा दिनेले नयाँ कमिटी बनाएर जान्थे,’ उनले विगत सम्झे, ‘टेस्ट परीक्षा दिन लागेकी सावित्रा राईको जिम्मेवारी मलाई दिइयो ।’

बुवा राजनीतिक व्यक्तित्व भएकाले घरमा मानिस आइरहन्थे । तर पनि उनलाई राजनीतिप्रति आकर्षण थिएन । आफू अध्ययनरत विद्यालयका अग्रज विद्यार्थीको अनुरोधमा प्राकमा आबद्ध भए । उनलाई राजनीति गर्छु भन्ने कहिल्यै लागेन । टेस्ट परीक्षासम्म प्राकमा बसेका उनी बीचको समय कतै जोडिएनन् ।

दिक्तेल क्याम्पसमा पनि प्राक सदस्य

एसएलसी उत्तीर्णपछि दिक्तेल बहुमुखी क्याम्पस भर्ना भए । क्याम्पसमा पनि प्राकमा बस्नुपर्ने बाध्यता आइलाग्यो । ‘हलेसीका कमानसिं राईले माथिका नेताहरूलाई संगठित गर्नुपर्छ है भनेपछि मलाई राखेका रहेछन् । मलाई गाउँ विकास समिति अध्यक्षको छोरा भनेर चिन्थे,’ उनले रहस्य खोले, ‘विद्यार्थी संगठनमा बस्ने विद्यार्थी कमै भएकाले पनि होला, मलाई राखियो । तर, क्रियाशील भइनँ ।’
आईए पास गरेपछि दिक्तेललाई बाइबाई गरे । बीए पढ्न काठमाडौं पसे । ०५६/५७ मा काठमाडौं पसेका उनले दुई वर्ष त्यत्तिकै बिताइदिए ।

भेला नहुनेलाई माओवादीले ठीक गर्ने

संवत् ०५९ साउन १३ गते गाउँ फर्के । त्यही दिन दुर्छिम, वानाम्लाका युवराम राई ‘सन्देश’, च्यास्मिटारका लक्ष्मण राई ‘सागर’लगायत तीन नेता गणेशटार आए । उनीहरूले राति गणेशटार गाउँ कमिटी गठन गर्दै रहेछन् । उनलाई थाहा थिएन । ‘राति ८ बजेतिर खाना खाँदै थियौं । सन्देशले बोलाको छ । सबै भेला हुनुपर्ने रे,’ देवान राई (साइनोले काका) ले त्यतिबेला सुनाएको खबर यस्तो थियो, ‘भेला नहुनेलाई माओवादीले ठीक गर्ने रे ।’

त्यतिबेला माओवादी भनेपछि सबै थरहरी । भनेको समयमै देवान राई (पूर्वशिक्षक) को घरमा गणेशटारवासी भेला भए । छलफल सुरु भयो । ‘कुरा राख्दै गइयो । बीए पढ्दै गरेकाले सन्देशले मेरो संयोजकत्वमा गाउँ कमिटी गठन गर्ने प्रस्ताव राखे,’ उनले जानकारी गराए, ‘तीनपटकसम्म अस्वीकार गरें । दबाब बढेपछि संगठित हुनुको विकल्प रहेन । मेरो संयोजकत्वमा राति ११ बजे १३ सदस्यीय गाउँ कमिटी बन्यो । मैले ‘ज्वाला’ उपनाम राखेको थिएँ ।’

तीन वर्ष गाउँ आउजाउ बन्द

सन्देश हलेसी क्षेत्रकै चर्चित माओवादी नेता । उनी खोटाङको १९ नम्बरको माओवादी नेता भनेर चर्चा थियो । कमिटी गठनलगत्तै खोटाङ, ओखलढुंगा, सोलुखुम्बु र भोजपुरमा लडाइँ भयो भने सबैलाई अनिवार्य सहभागी हुन उर्दी गरियो । सबैले असहमति जनाए ।

खोटाङ, ओखलढुंगा, सोलुखुम्बु र भोजपुरमा लडाइँ हुँदा घाइते बोक्न अनिवार्य जानुपर्ने भनेर दोस्रो प्रस्ताव गरे । त्यतिमात्रै होइन, त्यसताका ७/८ सय जनमुक्ति सेना हिँड्दा एक घरबराबर ४० जना राख्नुपर्छ । कतिपय अवस्थामा खाना खुवाउनुपर्छ । गठित कमिटीले त्यो भूमिका खेल्नुपर्ने कडा उर्दी जारी भयो । नाइँ भन्ने कसैको हिम्मत भएन ।

‘गाउँ धेरै दिन बसिनँ । काठमाडौं फर्किहालें,’ उनले प्रस्ट्याए, ‘०५९ देखि ०६१ सम्म गाउँ फर्किनँ ।’

राजनीतिशास्त्रमा एमफिल

विभिन्न क्षेत्रमा अनुहारिए पनि पढाइलाई प्राथमिकतामा राखे । ऐच्छिक अंग्रेजीमा स्नातक र एलएलबीसमेत उत्तीर्ण गरे । राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर गरेका उनी राजनीतिशास्त्रमै एमफिल गर्दै छन् ।

आदिवासी आन्दोलन छाडेर राजनीति

अध्ययनका अलावा आदिवासी आन्दोलनमा अनुहारिन थाले । आदिवासी जनजाति युवा महासंघको संस्थापक भए । यो संवत् ०६२/०६३ को कुरा हो । महासंघमा रहँदा विदेश गइरहने अवसर पाए । चार महादेश घुमेका उनको युरोपका लागि पटक–पटक सेन्जेन (युरोपका २६ देश घुम्न पाउने) भिसा लागेको थियो । अमेरिकाका लागि पाँच वर्षे ‘मल्टिपल भिसा’ समेत लागेकै हो । ‘त्यतिबेला राजनीतिभन्दा सामाजिक संगठनबाट आफ्नो परिचय फराकिलो बनाउन लोभिएको थिएँ,’ एमफिल अध्ययनरत राजुविक्रम चाम्लिङको भनाइ छ, ‘त्यसमा पनि आदिवासी जनजाति आन्दोलनबाटै आफूलाई स्थापित गर्छु । त्यहाँबाट पनि संयुक्त राष्ट्रसंघलगायत सबै ठाउँमा हाम्रो हक अधिकार सुरक्षित गर्न सकिएला भन्ने लागेको थियो ।’

राजनीति भनेको पनि समाज सेवा हो । त्यसैले सामाजिक संस्थाबाटै स्थापित हुन जोडबल गरे । सन् २००९ मा युएन कार्यक्रमका लागि स्वीट्जरल्यान्ड पुगे । सन् २०११, २०१२ र २०१३ सम्म लगातार सो कार्यक्रममा सहभागिता जनाए । ‘सामाजिक आन्दोलनकर्ताका नाताले ‘डेलिगेसन’ जाँदा आफ्ना कुरा सुनाइए पनि प्रधानमन्त्रीमात्रै होइन, मन्त्री र राजनीतिक दलसम्बद्ध नेताले समेत हाम्रो कुरा सुन्दै नसुन्ने,’ नेता चाम्लिङले जोड दिए, ‘सामाजिक संस्थामा लागेर मात्रै आफ्ना हक–अधिकार सुनिश्चित गर्न नसकिने ठम्याइपछि राजनीतिमै लाग्नुपर्ने रहेछ भन्ने चेतना खुल्यो ।’

कुनै पार्टीमा नरहँदा २ दिन, एकरात हिरासतमा

दोस्रो (०६२/६३ को) जनआन्दोलन सफल पार्न आदिवासी जनजातिलाई त्रिपुरेश्वर आर्कमा खटाइएको थियो । त्रिपुरेश्वरसम्म जान नसकिएकाले चाबहिल आर्कमा बस्यौं,’ उनले सुदूरअतीत सम्झे, ‘प्रहरीले समातेर गौशालामा थुन्यो । हामी माओवादी हौं भन्ने अवस्था थिएन । हामीसँगै समातिएका कांग्रेस, एमालेसम्बद्ध आदिवासी जनजातिलाई हाम्रा कार्यकर्ता हुन् भन्दै हिरासतमुक्त गरे । मलगायत तीन/चार जना थुनियौं ।’ उनीहरूलाई पिटपाट पनि गरे । भोलिपल्ट कागज गरेर छाडिदिए । सामाजिक संस्थाबाट आन्दोलन गर्दा प्रहरीले समेत ज्यादती गरेको त्यो क्षण उनलाई हिजैजस्तो लाग्छ ।

संवत् ०६४ मा माओवादीनिकट खोटाङ–काठमाडौं गणतान्त्रिक मञ्च स्थापना भयो । मञ्चको साधारण सदस्यदेखि, कार्यकारी सदस्यसम्म भए । ०६८ मा मञ्चको नाम परिवर्तन गरेर खोटाङ–काठमाडौं सम्पर्क मञ्च बनाइयो । उनले मञ्च संयोजकको भूमिका पाए । माओवादीले खोटाङ–काठमाडौं सम्पर्क मञ्चसम्बद्धलाई पार्टी जिल्ला समितिमा समावेश गर्ने नीति बनायो । उनी ०६८ देखि ०७० सम्म पार्टीको खोटाङ सदस्य बने । ०७२ मा जिल्ला अधिवेशन भयो । उनी फेरि जिल्ला समिति सदस्य भए । एमाले र माओवादी एकतापछिको नेकपा हुँदासमेत उनी जिल्ला कमिटी सदस्यको भूमिकामा थिए ।

संवत् ०७३ देखि भूगोलकेन्द्रित राजनीतिमा रमाइरहेका उनी सोही वर्ष योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपाल केन्द्रीय कमिटीमा आबद्ध भए । वाईसीएल र युवा संघ एकतापछि बनेको राष्ट्रिय युवा संघ केन्द्रीय सदस्यसहित खोटाङ इन्चार्जको भूमिका पाए । नेकपा विभाजनपछि वाइसीएलको केन्द्रीय सदस्य र खोटाङ इन्चार्जको भूमिकामा थिए ।

अमेरिका बस्ने सुविधा त्यागेर राजनीतिमै ‘होलटाइमर’ उनी माओवादीको जातीय, क्षेत्रीय मुक्ति मोर्चाअन्तर्गत किरात राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय सदस्यसमेत हुन् ।

यसैगरी, ०७८ मा पार्टीको संरचना परिवर्तन भयो । जिल्ला कमिटीमा रहेकालाई जिल्ला समन्वयमा लगियो । प्रदेश र स्थानीय तहलाई कार्यकारी बनाइयो । त्यसपछि ०७८ मंसिर ११ गते नेकपा (माओवादी केन्द्र) हलेसी तुवाचुङ नगरपालिका नगर समिति अधिवेशनबाट राजुविक्रम चाम्लिङ अध्यक्षमा निर्वाचित भए । सोही वर्ष नेकपा (माओवादी केन्द्र) को श्रम तथा रोजगार विभाग केन्द्रीय समिति सदस्यको जिम्मेवारी पाए । अहिले पनि जिम्मेवारीमै छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार