अनार बगैंचाभित्र २ लाखको तरकारी

(दीपेन्द्र राई)

घरमन्तिर करिब दुई रोपनी जग्गामा अनारको बगैंचा । बगैंचामा सय बोट अनार । दुई वर्ष नाघ्यो अनार लगाएको । अबको दुई वर्षपछि अनारले फल दिन थाल्छ । अनार रोपेको चार वर्षको मिहिनेतपछि बल्ल फल पाइन्छ । अनार लगाएपछि सो जग्गामा मकै तथा कोदी लगाउन मिल्दैन ।

चार/चार वर्षसम्म के गर्ने त ? बगैंचामा अन्य बाली लगाउन नमिल्ने भएपछि दुर्छिम–१ साल्तेम्मा खोटाङका यज्ञराज राईले उपाय निकाले– अनारलाई असर नपर्नेगरी तरकारी खेती गर्ने । ‘८ सय ४० बोट अकबरे खुर्सानी लगाएँ,’ काठमाडौंको न्युरोडमा भेटिएका राईले सुनाए, ‘अनार बगैंचाको डिलडिलमा बोडी लगाएँ । तीतेकरेला, ब्रोकाउली, सोंफ, धनियाँ, चिप्लेभिन्डी, गोलभेंडा, अदुवा र बेमौसमी काँक्रा रोपें ।’

अनार बगैंचाभित्रै यत्तिका तरकारी लगाएपछि मिहिनेत त पक्कै गर्नुप¥यो । नगरी सुखै छैन । अनारबाट तत्काल आम्दानी नदिने भएपछि सुझाइएको खेतीले धेर–थोरै उपलब्धि त भयो होला नि ? राईको भनाइ छ, ‘परीक्षणका लागि तरकारी लगाएको थिएँ । परीक्षणका लागि लगाएको तरकारी त व्यावसायिकजस्तो पो भइदियो ।’

थोरै मानिसलाई मात्रै यस्तो सफलता मिल्छ । त्यसमध्येमा परे यज्ञराज राई । परीक्षणकै लागि लगाइएको तरकारीले व्यावसायिक रूप लिँदासम्म राईले थुप्रै मिहिनेत गरेका छन् । उनले भने, ‘बिहान ६ बजे उठेपछि बगैंचा पसिहाल्थें । बगैंचामै चिया ल्याइदिन्थे । ११ बजे बगैंचाबाट निस्कन्थें । खाना खाएपछि छापडाँडा पुग्थें । थकाइ मेट्न हलेसीसम्म नपुगेको दिन हुन्थेन । दिउँसो ४ बजेपछि फेरि अनार बगैंचा पस्थें । ६ बजेसम्म बगैंचामै अल्मिलिन्थें ।’

दैनिक ७ घन्टा अनार बगैंचामै अल्मलिने उनले तरकारी खेतीलाई समय दिँदा अनारका लागि पनि गोडमेल भइहाल्थ्यो । एक काम गर्दा अनेक हुनु भनेको पनि सामान्य कुरा होइन । जसलाई उनले व्यवहारमा उतारे । अनार बगैंचामा तरकारी लगाएर उनले दुई लाख रुपैयाँभन्दा बढी हात पारे । ‘त्यही पैसाले छोराछोरीको बोर्डिङको फिस तिरिदिएँ । बाइकमा पेट्रोल हाल्न फिटफिटी परेन,’ उनले स्वीकारे, ‘नुन, तेल किन्न, माछामासु खान त्यही पैसाले पुग्यो ।’

काठमाडौंको आरआर क्याम्पसमा स्नातक तह तेस्रो वर्ष पढ्दा–पढ्दै यज्ञराज राईले वैदेशिक रोजगारीलाई रोजे । आफूले हासिल गरेको प्रमाणपत्रले स्वदेशमा रोजगारी नपाएपछि मलेसिया, कतार, दुबई र साउदी अरबमा ८ वर्ष बिताएका राईले घर बस्दा उदाहरणीय काम गरेर धेरैलाई सवक सिकाएका छन् । फुर्सदको समय गाउँ डुलेरै बिताउनेका लागि उनको काम नमुनायोग्य मानिन्छ । गाउँघरमा उनको पौरखबारे तारिफ नगर्ने कोही छैनन् । पंक्तिकारसँग छुट्टिनुअघि उनले सुनाउन भुलेनन्, ‘सुरु–सुरुमा तरकारी बेच्न लाज लाग्यो । बिस्तार बानी लाग्यो । पहिले–पहिले एकछाक साग मागेर खाने आफन्तले हिजोआज १५ रुपैयाँको साग माग्नुहुन्छ । ५ रुपैयाँको धनिया, सोंफ । म पनि नधकाइ तरकारी बेच्न सक्ने भएको छु ।’

(नोट : यो समाचार तयार पार्दा अनार बगैंचा थियो । अहिले छैन । त्यतिबेला प्रकाशित समाचार जस्ताको तस्तै प्रकाशन गरिएको हो ।)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार